काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने यस वर्षको तिहार हिरासतमै मनाउन पर्ने बाध्यतामा परेका छन् ।

सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेमाथि थप चारवटा सहकारी ठगी प्रकरणको अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ । ती सहकारीहरूमा बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी रहेका छन् ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रक्रिया जारी रहेकाले लामिछानेलाई छिट्टै रिहा गर्ने सम्भावना देखिएको छैन । विशेषगरी पोखरा र बुटवलका सहकारी ठगी प्रकरणको अनुसन्धानपछि मात्र अन्य मुद्दाहरूको छानबिन अघि बढ्ने जनाइएको छ ।

गत कात्तिक २ गते विशेष संसदीय समितिको निर्देशनमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले दुई पटक म्याद थप गरिसकेको छ । यता रास्वपाले भने आफ्ना सभापतिको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

पार्टीले सुरुमा पोखरामा केन्द्रित गरेको विरोध कार्यक्रम अहिले काठमाडौंमा सारेको छ । हिजो सामसद सहित केही नेता कर्याकर्ताहरु पक्राउ परेका भएतापनि उनीहरू साँझ रिहा भइसकेका छन् ।

रास्वपाले लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने कुनै आधार नभएको भन्दै बाहिरै राखेर अनुसन्धान गर्न माग गरिरहेको छ ।