काठमाडौं : विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिएका छन्। शीतलनिवासमा शनिबार अपराह्न उनले सर्वसाधारणलाई टीकाजमरा लगाई दिएका हुन्।

दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाइदिएको राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ। 

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन्। राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिले पनि निरन्तरता दिने गरेका छन्।