बारा, इश्वर प्रताप लामा
१५ बैशाख २०८०, शुक्रबार
क
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर आज बसेको सांसदिय दलको बैठक केहीबेर अवरुद्ध भएको छ।
बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गरेका थिए ।
सभामुखले बोल्ने समय दिएपछि सांसद रमेश लेखकले फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरीलाई बिरामी भन्न नहुने बताउँदै बिरामी भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गरे ।
सांसद रवि लामिछानेले सांसद कोइरी फरार अभियुक्त भएको बताउँदै कोइरीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको तस्बिर आफूसँग भएको जानकारी गराए । उनले यस सम्बन्धमा छानविन समिति गठन हुने वा सभामुखबाट रुलिङ हुने अपेक्षा गरे।
ससांसद चित्रबहादुर केसीले ज्यानमारा अभियोग लागेकालाई चोख्याउन नमिल्ने बताए ।
बैठकमा सभामुख घिमिरेले सांसदले उठाएका विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सो विषयमा नेपालको संविधान, प्रचलित कानून र संसद् नियमावलीअनुसार हुने बताए । बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।