काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अहिले अर्को सङ्कट आइलागेको छ। नागरिकता प्रकरणमा दोषी ठहर भएपछि गुमेको सबै पदमा पुनर्वहाली भएको डेढ वर्षमै उनी सहकारी प्रकरणमा पक्राउ पर्ने अवस्था छ।  

सहकारी बचत रकम दुरुपयोग गर्ने गोरखा मिडिया प्रालिमा कुनै बेला सँगै रहेका सारथि पक्राउ परेपछि आफू पनि पक्राउ पर्ने भय रविमा छ। उनी पक्राउ पर्ने हल्लापछि आइतबार रातिसम्म पार्टी मुख्यालय वनस्थलीमा रास्वपाका कार्यकर्ताको भिड लागेको थियो सभापतिसँगै काठमाडौंमा उपलब्ध रास्वपा सांसद र नेताहरू पनि कार्यालयमै अबेरसम्म बसे। 

राति नै कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै रविले आफूमाथि षड्यन्त्र गरिएको दाबी गरे। ‘कसैको राजनीति जोगाउनका निम्ति मलाई बलि चढाउन नखोज्नुस्। आँट भए आउनुस्, तर मलाई षड्यन्त्र गरेर होइन। चुनाव लडेर जित्नुस्। यस्तो षड्यन्त्र गरेर होइन’, उनको भनाइ छ, ‘सबैलाई हेक्का रहोस् कि रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएका मान्छेलाई बचाएर राजनीतिमा आएको हो।’

आफू निर्दोष रहेको जिकिर गर्दै रविले के का आधारमा आफूलाई पक्राउ गर्न खोजियो? भनेर आक्रोश पोखे। ‘प्रहरीको अनुसन्धानले दोषी देखिएको छैन भन्छ, अदालतमा मुद्दा गएको छ प्रतिवादी छैन भन्छ, कसैको बयानले बोलेको छैन, देशको प्रहरी प्रमुखले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन भन्छन्। सहकारी समितिले पनि सहकारीको रकम ल्याएकोबारे केही निर्णय गरेको छैन भन्छ’, उनले भने, ‘तर कुन नयाँ तथ्य आयो र यसरी गर्न खोजियो?’

यद्यपि, उनले आफू नभागेको भन्दै थप छानविनका लागि सघाउन तयार रहेको बताएका छन्। ‘मैले हिजो पनि भनेको थिएँ। मलाई कहाँ लानुहुन्छ लैजानुहोस् म जान तयार छु  छानविनका लागि सघाउन’, उनले भने, ‘म भागेको छैन। गल्ती गर्ने भागेका छन्। तर सरकारको यो कदममा शंका छ। अन्याय गर्न पाइँदैन।’ 

त्यसपछि पार्टी कार्यालयबाट निस्किएका रास्वपा सभापतिले मध्यराति सामाजिक संजालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा नसन्काउन चेतावनी दिए।

प्रहरीले पक्राउ गर्ने तयारी गरेसँगै रास्वपा सभापति रविमाथि संकट चुलिएको छ। विगतमा पनि विभन्न प्रकरणमा जोडिँदै आएका रवि पुनः सहकारी प्रकरणमा मुछिएपछि उनको राजनीतिक भविष्य नै अन्योलतर्फ धकेलिन सक्ने विश्लेषण भइरहेका छन्।

गत आमनिर्वाचनबाट देशको चौथो ठूलो दलका रूपमा उदाउँदै गर्दा रास्वपालाई प्रमुख तथा पुराना दलहरूका चुनौतीका रुपमा अर्थ्याइन्थ्यो। तर संसद यात्राको दुई वर्ष नबित्दै एकपछि अर्को विवादमा मुछिनुले स्वयं सभापति रवि र उनका पार्टी रास्वपाकै भविष्य अन्योलग्रस्त हुन सक्ने धेरैको बुझाइ छ।