इजरायली सेनाले लेबनानमा जारी राखेको आक्रमणमा एक हप्तामा २ हजार मानिसको मृत्यु भएको छ। यसमध्ये १२७ बालबालिका र २६१ महिला छन्। 

राजधानी बेरुतसहित कयौँ सहरमा हवाई आक्रमण र दक्षिणी सीमा क्षेत्रमा शुरु भएको स्थलगत आक्रमणमा हजारौँ मानिस घाइते भएका छन् । हालसम्म बेरुतबाट १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। 

अल जजिराका अनुसार इजरायलले दक्षिणी सीमादेखि बेरुतसम्मै क्रुरुरतापूर्वक हवाई आक्रमण जारी राखेको छ। प्रत्येक आक्रणममा केही न केही व्यक्ति मारिएका छन्। इजरायलले एक आदेश जारी गर्दै १५ अक्टोबरसम्म दक्षिणी बेरुतको बुर्ज अल–बरजनेह र हरेत हरेक क्षेत्रका स्थानीयलाई उक्त क्षेत्रमा खाली गर्न भनेको छ। 

इजरायलले त्यहाँ हिजबुल्लाह समूहका कार्यालयहरु रहेको भन्दै तीनलाई नष्ट गर्न स्थानीयलाई त्यहाँबाट निस्किन आदेश दिएको हो। हिजो दिनभरजसो बेरुतका विभिन्न ठाउँमा आक्रमण गरेको इजरायली सेनाले राति विमानस्थल तथा शरणार्थी शिविरमा बम वर्षा गराएको समाचारमा जनाइएको छ।